कैलालीमा बसको ठक्करबाट युवतीको मृत्युपछि तनाव, प्रहरीको गोली लागेर दुई जना घाइते

नेपालखोज २०७७ चैत १० गते १४:००

कैलाली । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउन हवाई फायरसमेत गरेको छ ।

ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया