मंगलबार, वैशाख १६, २०८२

बिहार विधानसभा तनावग्रस्त, सांसदमाथि लात्ती र मुक्का प्रहार

नेपालखोज २०७७ चैत ११ गते १५:२७

काठमाडौं । भारतको बिहार प्रदेशको विधानसभा बैठक तनावग्रस्त बनेको छ । सरकारले ल्याउन लागेको नयाँ प्रहरी विधेयकको विरोधमा विपक्षी दलका सांसदले चर्को विरोध गर्दा विधानसभा बैठक तनावग्रस्त बनेको हो ।

नाराबाजी गर्दै सभामुखको कुर्सीसम्म पुगेका विपक्षी सांसदले विधेयकको प्रतिलिपि खोसेर च्यातिदिएका थिए । त्यसपछि संसदभित्र प्रहरी बोलाइएको थियो । संसदमा प्रवेश गरेका प्रहरीले सांसदमाथि कुटपिट सुरु गरेका थिए ।

एक भिडियोमा देखीए अनुसार सदनभित्र प्रवेश गरेको प्रहरीले विधायकहरुलाई लात्ती र मुक्का प्रहार गरिरहेको देखिन्छ । उक्त घटनामा दुई महिलासहित १२ सांसद घाइते भएको भारतिय संचार माध्यमले जनाएका छन् । केही प्रहरी र सञ्चारकर्मी पनि घाइते भएको बताइएको छ ।

पछिल्लो केही दिनयता बिहारको विधानसभामा सत्तापक्ष र विपक्षबीच बिहार विशेष सशस्त्र प्रहरी विधेयक २०२१ को विषयमा विवाद हुँदै आएको थियो । यद्यपि उक्त विधेयक मंगलबार ठूलो विरोधका बीच विधानसभाबाट पारित भएको छ ।

विपक्षीले यो विधेयक पारित भएसँगै प्रहरीले अदालतको वारेन्ट विना नै शंकाको आधारमा जो कोहीलाई पक्राउ गरेर जेल हाल्न सक्ने अधिकार पाउने बताएका छन् । सत्ता पक्षले भने यो नियम सामान्य प्रहरीको लागि नभई विशेष सशस्त्र प्रहरीको लागि ल्याइएको भन्दै बचाउ गर्दै आएको छ ।

प्रतिक्रिया