गृहसचिव न्यौपानेद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेकाछन । सो अवसरमा न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगति सम्बन्धी जानकारी लिनुको साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गरेका छन् ।
उक्त अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिए । उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताए ।

निरीक्षण पश्चात न्यौपानेले प्रहरी अधिकृत तथा जवानहरुलाई आफ्नो आचरण एवम् अनुशासनप्रति संवेदनशील भई ईमानदारिताका साथ प्रतिवद्धतामा नडगमगाई जिम्मेवारी वहन गर्न निर्देशन दिए । उनले प्रहरी संगठनको सुदृढिकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको चर्चा गर्दै प्रहरीका कार्यालयको गतिविधि अनुगमन तथा कारवाही प्रकृया बढाउनुपर्ने जरुरी रहेको बताए ।
गृहसचिव न्यौपानेले प्रहरी संगठन सुधार, भौतिक पूर्वाधार निर्माण, वृत्ति विकास लगायतका विषयमा मन्त्रालयले छलफल अगाडि बढाएको जानकारी दिए । चालु आर्थिक वर्ष जस्तै आउँदो वर्ष पनि बेरुजु फर्छ्यौरटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रीत गरी टिम बनाई थप सक्रियताका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिवबाट प्राप्त निर्देशनलाई नेपाल प्रहरीले थप जिम्मेवारी बोध सहित कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरी कर्मचारीले आफ्नो क्षमता प्रदर्शन भन्दा पनि ईमानदार भई कार्यसम्पादन गर्नुपर्ने उनले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीले आन्तरिक शुद्धिकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई एउटा प्रणालीमा ल्याउने प्रयास भइरहेको बताए । प्रहरी कर्मचारीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको जानकारी दिए ।
उक्त अवसरमा गृहसचिव न्यौपाने समक्ष प्रहरी उपरीक्षक मनोज कुमार केसीले नेपाल प्रहरीको गतिविधि तथा प्रगति सम्बन्धी समीक्षात्मक प्रस्तुतीकरण गरेका थिए । गृहसचिव न्यौपाने प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा उनलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरु एवम् प्रहरी वरिष्ठ अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया