मंगलबार, कार्तिक २७, २०८१

‘ढुक्क हुने अवस्था छैन, खतराको कालो बादल मडारिइरहेको छ’

नेपालखोज २०७७ चैत ११ गते १७:०९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता अझै ढुक्क हुने अवस्था नरहेको बताएका छन् । केही समयअगाडि संविधानलाई खोस्टो बनाएर च्यात्ने प्रयत्न भएको स्मरण गर्दै प्रचण्डले अझै ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।

बुधबार धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हिजो एक झुण्डले संविधान रुचाएको थिएन । त्यही झुण्डले संविधानलाई खोस्टो बनाएर च्यात्ने प्रयत्न गरेका थिए । तर, हामीले नागरिकलाई जागरुक बनायौँ, सर्वोच्च अदालतको फैसलाले निर्णय उल्ट्यो । अझै ढुक्क हुने अवस्था छैन । अझै पनि खतराको कालो बादल मडारिइरहेको छ ।’

विस्तृत शान्ति प्रक्रियादेखि नै एउटा वर्गले यथास्थितिवादकै पक्षमा चलखेल गर्दै आएको प्रचण्डले बताए । संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिस्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास भएको प्रचण्डले स्मरण गरे ।

नेपालको राजनीति एकपटक फेरि असहज परिस्थितिमा जाने खतरा देखिएको भन्दै प्रचण्डले गम्भीर र सतर्क रहनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया