कोरोना खोप निर्यातमा भारतले लगायो अस्थायी रोक

काठमाडौं । आफ्नो मुलुकमा कोरोना संक्रमण बढ्दै गएपछि भारत सरकारले अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित ‘कोभिसिल्ड’ खोप निर्यातमा अस्थायी रूपमा रोक लगाएको छ । दिनप्रतिदिन कोरोना संक्रमण तीव्र भएपछि आफैंलाई खोप अभाव हुन सक्ने आशंकाले भारतले यसको निर्यातमा रोक लगाएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार आगामी साता आफ्नै देशमा खोपको माग बढ्ने देखिएकाले तत्काललाई यसको निर्यात रोकिएको भारतको विदेश मन्त्रालयले जनाएको छ । यो रोक अप्रिल अन्त्यसम्म रहन सक्ने भारतीय अधिकारीले बताएका छन् ।
यो रोकले कोभ्याक्सअन्तर्गत १९० देशलाई असर पर्नेछ । भारतले अहिलेसम्म नेपालसहित ७६ देशमा झन्डै ६ करोड डोज निर्यात गरिसकेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनी मानिन्छ ।
भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरेको खोप नेपालले पनि प्रयोेग गरिरहेको छ । पहिले अनुदान पाएको नेपालले पछि खरिद पनि गरेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेको छ । बुधबार मात्र त्यहाँ ४७ हजार मानिसलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये २७५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया