शुक्रबार, वैशाख १४, २०८१

भूमाफियाको चंगुलमा पशुपति क्षेत्र विकास कोष !

कोषका सदस्य-सचिव र विभागीय मन्त्रीको आन्तरिक भागबन्डा मिलेन, प्रकाशित भइसकेको टेन्डर पनि रोकियो

नेपालखोज संवाददाता २०७७ चैत १२ गते १४:४९

काठमाडौं । पशुपति क्षेत्र विकास कोष भूमाफियाहरुको चंगुलमा फसेको छ । कोषलाई आर्थिक लाभ हुने गरिएको टेन्डर आह्‍वान पनि सदस्य-सचिव तथा विभागीयमन्त्रीको आन्तरिक भागबन्डा नमिल्दा रोकिएको छ ।

सदस्य-सचिव डा. प्रदीप ढकाल र विभागीय मन्त्रीको आन्तरिक भागबन्डाकै कारण कोषको आर्थिक लाभ हुने बाटो बन्द भएको हो । दुई अर्ब १२ करोड रुपैयाँ आम्दानी हुने गरी सदस्य-सचिव आफैंले खुलाएको टेन्डर रोकिएसँगै कोषमा आर्थिक चलखेल भएको सहजै अनुमान लगाउन सकिने स्रोतले दाबी गरेको छ ।

कोषले गत फागुन २३ गतेको गोठाटारस्थित ५३४ रोपनीमा रहेको बालुवा माटोको दुई अर्ब १२ करोड आम्दानी गर्ने लक्ष्यका साथ खुला प्रतिस्पर्धाबाट टेन्डर आह्‍वान गरेको थियो । ‘यो टेन्डरबाट कोषलाई आर्थिक लाभ हुने देख्दा-देख्दै कोषको सदस्य-सचिव ढकाल र विभागीय मन्त्रीको आन्तरिक भागबन्डा नमिलेका कारण प्रकाशित भइसकेको बोलपत्रलाई रद्द गरियो,’ स्रोतले भन्यो ।

उक्त ५३४ रोपनीमध्ये करिब ३५ देखि ४० रोपनीमा विभिन्न राजनीतिक पार्टीसँग आबद्ध व्यक्तिहरुले पक्की घरहरु बनाएर अतिक्रमण गरी बसिरहेका छन् । पशुपति क्षेत्र विकास कोषको नाममा रहेको यही जमिनलाई मिचेर पहुँचवालाहरुले उपभोग गरिरहेका छन् । यस्तै केही भू-माफियाहरुको मिलेमतोमा त्यहाँको बालुवा-माटो अवैध रुपमा निकासी गरी वार्षीक ४० देखि ५० करोड रुपैयाँसम्मको चलखेल हुँदै आएको दाबी स्रोतले गरेको छ ।

कोषका नाममा रहेका जमिनहरु भूमाफियाहरुले आफ्नो चंगुलमा पारेर करोडौंको क्षति पुर्‍याइरहेका छन् ।

२०७७ भदौ २१ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्‍त्री योगेश भट्टराईको अध्यक्षतामा कागेश्वरी मनोहरा नगरपालिका वडा ६ मा रहेको ५३४ रोपनी जमिन उपभोग गरी दुई अर्ब १२ करोड ५० लाख रुपैयाँ कोषलाई एकमुस्ट आम्दानी हुने भन्दै टेन्डर आह्‍वान गरिएको थियो । वर्तमान पर्यटनमन्त्री र कोषका सदस्य-सचिवको भागबन्डामै भएको खटपटले आज (चैत १२ गते) गोरखापत्र दैनिकमा टेन्डर स्थगित गरिएको छ ।

तर पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा भने आन्तरिक, प्राविधिक कारणले टेन्डर स्थगित गरिएको बताउँछन् । ‘ठूलो रकम भएकाले केही आन्तरिक प्राविधिक कारणले गर्दा मात्र स्थगित गरेका हौं । प्राविधिक कुराहरु मिलाउँदै छौं । अरु कारण छैन,’ उनले भने, ‘पछि फेरि टेन्डर खुलाउँछौं ।’

कोषका नाममा रहेका जोशमनी मठ, भण्डारखाल क्षेत्रको जमिन पनि भूमाफियाको चलखेलको चपेटामा परेको कोषकै एक सदस्यले नेपालखोजलाई बताए । उनका अनुसार कालुमान डंगोललगायतका जमिन हडप्नसमेत ठूलो जनशक्ति परिचालन भएको छ ।

भूमाफियाको चलखेल भए पनि विश्वसम्पदामा सूचीकृत ऐतिहासिक धरोहरको सम्पत्तिमा चौतर्फी आक्रमण भइरहे अस्तित्वसमेत खतरामा पर्ने विज्ञहरु जनाउँछन् । यो विषयमा कोषका सदस्यसचिव डा. प्रदीप ढकालसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो ।

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया