महाेत्तरीका झा दम्पतिको शव टाउको छिनालिएको अवस्थामा फेला

काठमाडाैं । महोत्तरी पिपरा गाउँपालिका–५ का झा दम्पतिको शव टाउको छिनालिएको अवस्थामा फेला परेको छ । उनीहरू करिब एक महिनाअघि घरबाटै बेपत्ता भएका थिए । साथै उनीहरू घरबाट बेडसहित अपहरणमा परेका थिए ।
झा दम्पतिको बिहीबार बिहान अतरार भन्ने ठाउँमा शव फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।
अतरारमा स्कोभटरले सडक खन्ने क्रममा प्लास्टिकको बोरोमा पोको पारिएको अवस्थामा उनीहरुको शव फेला परेको थियो । दुबै शव फेला परे पनि पुरुषको टाउको भने छिनालिएको अवस्थामा भेटिएको छ ।
झाका छोराले आफ्ना आमा–बाबुकै शव रहेको पुष्टि गरेका छन् । उनीहरुको सोही ठाउँमा हत्या गरिएको हो वा अन्त हत्या गरेर त्यहाँ ल्याएर गाडिएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहितै बेपत्ता पारिएको थियो ।
झा दम्पति मोही जग्गा विवादको मुद्दामा साक्षी बसेको र अदालतमा विचाराधीन रहेको मुद्दाका विपक्षीसँग उनको केहि दिन अघि विवाद भएको स्थानीयले बताए ।
प्रतिक्रिया