रेशम चौधरीलाई जलमै पुगेर भेटे एमाले सांसद महेश बस्नेतले

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले निलम्बित सांसद रेशम चौधरीलाई जेलमै पुगेर भेट गरेका छन् । कैलालीबाट निर्वाचित जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई शुक्रबार बिहान डिल्लीबजार कारागार पुगी प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद बस्नेतले भेट गरेका हुन् ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जसपालाई सहभागी गराएर संसदमा बहुमत पुर्याई विश्वासको मत लिने प्रयास भइरहेका बेला बस्नेतले चौधरीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ‘जसपालाई सरकारमा सहभागी बनाउने पहलस्वरुप यो भेट भएको हो,’ बस्नेतनिकट स्रोतले बताएको छ । ओली र जसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच निरन्तर वार्ता जारी छ ।
जसपाले सरकारमा सहभागिताका लागि चौधरीलगायतका सो पार्टीका नेता कार्यकर्ताहरूको मुद्दा फिर्ता र रिहाइको शर्त राख्दै आएको छ । २०७२ सालमा कैलालीको टीकापुरमा एक एसपीसहित सात प्रहरी र एक बालकको हत्या भएको काण्डका चौधरी दोषी हुन् । जिल्ला अदालत र उच्च अदालतले चौधरीलाई मुख्य योजनाकारका रुपमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
जसपाभित्र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारमा जान नहुने बताइरहेका बेला ठाकुर पक्ष भने बालुवाटारसँग निरन्तर वार्तामा रहेको छ ।

प्रतिक्रिया