कांग्रेसले बोलायो आकस्मिक बैठक, अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर पार्टी कार्यालय राखिने

काठमाडौं । नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको निधनपछि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक आज बिहान साढे ११ बजे बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २.०० बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
जोशीको पार्थिव शरीरलाई बिहान ९ बजे नर्भिक अस्पतालबाट निकालिनेछ । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन गएराति ८ः२४ मा नर्भिक अस्पतालमा भएको हो। गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो ।
वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिनु भएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रिया