राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने

नेपालखोज २०७७ चैत १४ गते ७:५४

काठमाडौं । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

जनगणनामा तथ्याक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने विभागले जानकारी गराएको हो ।

विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले तथ्यांक संकलनको क्रममा सुपरिवेक्षकबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषिसम्बन्धी, ऋण, बैंक खाता, सरकारी अनुदानमा घर निर्माण र व्यावसायिक तालिमसम्बन्धी विवरण संकलन गर्ने बताए ।

साथै गणकहरूबाट प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फाराममार्फत घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिने उनले बताए ।

प्रतिक्रिया