शुक्रबार, वैशाख १४, २०८१

चार स्रष्टा सम्मानित एवं पुरस्कृत

नेपालखोज २०७७ चैत १४ गते १४:१५

काठमाडाैं । वासु शशी स्मृति परिषद्ले, वरिष्ठ कवि एवम् नाटककार वासु शशीको ८५औं जन्मजयन्तीको अवसर पारेर उनको साहित्यिक योगदानको चर्चा गर्नुका साथै चार स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
 
परिषद्द्वारा शुक्रबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले लेखक कर्ण शाक्यलाई दोसल्ला ओढाई वासु शशी साहित्य सम्मान–२०७६ द्वारा सम्मानित गरे ।
 
यसैगरी प्रमुख अतिथि जोशीले कथाकार इन्दिरा प्रसाईलाई वासु शशी साहित्य पुरस्कार–२०७६, निबन्धकार श्रीओम श्रेष्ठ रोदनलाई कुमार सरस्वती साहित्य पुरस्कार–२०७६ र निबन्धकार रमण घिमिरेलाई कुमार सरस्वती साहित्य पुरस्कार–२०७७ प्रदान गरे । सो पुरस्कारकासाथ २५ हजार नगद राशीसमेत प्रदान गरिएको छ ।
 
समारोहलाई सम्बोधन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले कविता र नाटकको क्षेत्रमा साहित्यकार वासु शशीको योगदानको चर्चा गरे । उनले नेपाल भाषामा शशीद्वारा रचिएको नाटक ‘ताचाप्वाँय्’ सफल नाटकमा गनिने बताए ।
 
साहित्यकार गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषद्का सचिव प्रद्युम्न जोशीले आफ्नो धारणा राखे । 

प्रतिक्रिया