नयाँ कार्यदिशा तयार गर्न माधव नेपाल समूहको केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय समितिको बैठक आज पनि बसेको छ । लाम्पाटीस्थित मेगा पार्टी प्यालेसमा जारी बैठकमा नयाँ रणनीति बनाउने तयारीमा माधव पक्ष जुटेको हो ।
माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको बैठक शुक्रबार पनि लाम्पाटीस्थित मेगा पार्टी प्यालेसमा बसेको थियो । शुक्रबारको बैठकले ओलीले डाकेको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको थियो । शुक्रबार साँझ बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्षका सांसदहरु पनि सहभागी भएका थिए ।
उनीहरुले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट सञ्चालन गर्नुपर्ने र बीचमा ओलीले एकपक्षीय बैठक राखेर गरेको निर्णय खारेज हुनुपर्ने माग गरेका थिए । ओलीले ती निर्णयमा कुनै परिवर्तन नहुने बैठकमै बताएका थिए ।
ओली आफ्नो अडानमा कायम रहेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि आज बैठक बसेको जनाइएको छ । माधवपक्षलाई ओलीको एकपक्षीय निर्णयहरु मन परेको छैन । माधव पक्षले आजको बैठकले भावी कार्ययोजना तयार गर्ने विश्वास लिएको छ ।

प्रतिक्रिया