आजदेखि काठमाडौंका घरमा मेलम्चीको पानी, दैनिक चार करोड लिटर वितरण

नेपालखोज २०७७ चैत १५ गते १०:२०

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आजदेखि काठमाडौंका घरका धारामा आउने भएको छ । योसँगै मेलम्चीको पानी पिउँने काठमाडौं उपत्यकावासीको २७ वर्षदेखिको सपना आज पूरा हुँदैछ।

गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज ९आइतबार०काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेयल०कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो। पहिलो दिन आज चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए ।

उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाका पनि सिमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ।

काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ।

खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ। आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।

प्रतिक्रिया