शुक्रबार, चैत १६, २०८०

धनकुटा, झापा र मोरङमा चैत २० गते हात्तीपाइले राेगविरुद्धको औषधी खुवाइने

नेपालखोज २०७७ चैत १५ गते १८:५८

विराटनगर । प्रदेश १ का तीन जिल्लामा यही चैत २० गतेदेखि हात्तीपाइ रोगविरुद्धको औषधि खुवाइने भएको छ । हात्तीपाइले रोगविरुद्धको औषधि प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४ सय केन्द्रमा ३ सय ४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।

उनले केही महिनाअघि धनकुटाको डाँडा बजार र लेकुवामा ३ सय जनाको परीक्षण गर्दा दुई जनामा मात्र हात्तीपाइलेको जीवाणु देखिएको जानकारी दिँदै यस पटक यो औषधि खुवाइ सकेपछि दुई वर्ष धनकुटामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउनु नपर्ने बताए ।

स्वास्थ्य कार्यालय मोरङका अनुसार यस जिल्लामा नौ लाख २४ हजार ५ सय ६२ जनालाई ७ सय ८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ । यस्तै झापामा छ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको कार्यालय प्रमुख ईश्वरी पौडेलले जानकारी दिए ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान–२०७७ को विषयमा आज प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी उपरीक्षक सन्तोकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहता, राजनीतिक दलकमा प्रतिनिधिसँगको छलफलमा हात्तीपाइलेविरुद्धको अभियानलाई सफल बनाउन सबैले आ–आफ्ना तहबाट सहयोग गर्नु पर्ने निर्णय भएको छ ।

देशका ६३ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेको अनुसन्धानले देखाएको छ । शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुन्निएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोगको लक्षण मानिन्छ ।

प्रतिक्रिया