थप १५ जनालाई सगरमाथा आरोहणका लागि अनुमति

काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि थप १५ जनालाई अनुमति दिएको छ । सोमवार ६ जना महिलासहित १५ जना सम्मिलित एउटा समूहलाई आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति दिइएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन।
योसहित आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ३१ पुगेको छ । यसअघि बहराइनका राजदूतसहित १६ जनाले अनुमति लिएका थिए ।
त्यस्तै वसन्त ऋतुमा नेपालका हिमाल चढ्नका लागि अनुमति लिनेको सङ्ख्या ८१ पुगेको छ । अनुमति लिनेहरूमा २२ जना महिला र ५९ जना पुरुष छन् ।
अनुमति लिनेहरूमध्ये चार जनाले नुप्त्से, एक जनाले मनास्लु, ४० जनाले अन्नपूर्ण र पाँच जनाले ल्होत्से हिमाल आरोहणका लागि अनुमती लिएका हुन् । हिमाल चढ्न अनुमति लिएकाहरूबाट सरकारले अहिलेसम्म चार करोड ८४ लाख १६ हजार चार सय ५८ रुपैयाँ रोयल्टी प्राप्त गरेको छ ।

प्रतिक्रिया