थ्री नेसन्स कप : नेपाल २-१ ले विजयी

नेपालखोज २०७७ चैत १६ गते १९:३७

काठमाडौं । बंगलादेशलाई हराउँदै ‘थ्री नेसन्स कप’को उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको अग्रता लिएको थियो । खेलको १८ औँ मिनेटमा संजोग राई र ४१ औँ मिनेटमा विशाल राईले गोल गर्दै नेपालले २-० गोल अन्तरको अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ८२ मिनेट बंगलादेशले एक गोल गर्दै खेल २-१ को स्थितिमा पुगेको थियो ।

बंगलादेशका १० नम्बरका खेलाडी मामुबुल रहमानले गोल गरेका थिए । पहिलो हाफ निकै शानदार खेलेको नेपालको प्रदर्शन दोस्रो हाफमा भने केही फितलो बनेको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाए पनि थप गोल गर्न नसक्दा नेपाल २-१ गोल अन्तरले विजयी भएको हो ।

खेल हेर्न प्रधानमन्त्री केपी ओली, कलाकार र फुटबल प्रेमी नेपालीको उपस्थिति उल्लेख्य रहेको थियो । नेपाली खेलाडीले पहिलो गोल गर्दा नै प्रधानमन्त्री लगयत दर्शकहरु निकै उत्साहित बनेका थिए । शुरुवाती ११ मा नेपाली खेलाडीका तर्फबाट गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी मैदानमा उत्रिएका थिए ।

त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल थिए भने भने फर्वार्डमा अन्जन विष्ट थिए । थ्री नेसन्स कप प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।

प्रतियोगिताको पहिलो खेलमा खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने नेपालले किर्गिस्तानसँग पनि बराबरी खेलेको थियो । लिग चरणका खेलमा कुनै पनि गोल नगरी फाइनल प्रवेश गरेको नेपालले फाइनल खेलमा भने २ गोल गर्न सफल भएको हो ।त्यस्तै आजको खेल खेल्दै विराज महर्जनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन । उनी खेलको अन्तिम ६ मिनेट मात्र खेलेका थिए ।

प्रतिक्रिया