नेपाली फुटबललाई ३७ वर्षपछि सफलता, अबको तयारी एसियन कप !

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले ३७ वर्षपछि आफ्नो घरेलु मैदानमा उपाधि हात पारेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई पराजित गर्दै नेपालले सफलता हात पारेको हो । यो खेलमा नेपालले बंलादेशलाई २-१ गोलले हराएको हो । यो प्रतियोगिता अभ्यास खेल (प्राक्टिस म्याच) भए पनि आगामी जुनमा हुने एसियन कप छनोटमा सहभागिता जनाउन अनुभव बटुल्न सहयोगी बनेको छ ।
नेपाली फुटबल टोलीले एसियन कप प्रतियोगिता छनोटका लागि स्तर परीक्षणको अवसर पाउनेछ । यसअघि सन् १९८४ मा दशरथ रंगशालामै प्रथम दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा नेपालले उपाधि चुमेको थियो । त्यतिबेला पनि फाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको थियो । यही रंगशालामा २२ वर्षअघि साफको आठौं संस्करणको फाइनलमा भने नेपाललाई बंगलादेशले १-० ले निराश पारेको थियो ।
आठौं साफसम्म राष्ट्रिय टोलीले नै खेल्ने प्रावधान थियो । साफको नवौं संस्करणबाट यू-२३ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । गत वर्ष दशरथ रंगशालामै नेपालको यू-२३ ले भुटानलाई २-१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । तर त्यो उमेर समूहको उपाधि हो ।
३७ वर्षमा तीनवटै फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । आठौं साफपछि यी दुई टोली फेरि एकपटक थ्री नेसन्स कपको फाइनलमा भिडे । यसपटक थ्री नेसन्समा नेपाल र बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यू-२३ टोलीको सहभागिता थियो ।
समूह चरणमा एक गोल पनि नगरी फाइनल पुगेको नेपालले सानदार प्रदर्शनका साथ उपाधि जितेको हो । नेपालले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । खेलको १८औं मिनेटमा मिडफिल्डर सन्जोग राईले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका थिए । सुनील बलको कर्नरमा सन्जोगले डी-बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
४२औं मिनेटमा मिडफिल्डर विशाल राईले गोल गर्दै नेपाललाई पहिलो हाफमा २-० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोगले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । बंगलादेशलाई ८२औं मिनेटमा महबुर रहमानले गोल गर्दै २-१ को अवस्थामा पुर्याएका थिए ।
नेपालले विश्वकप छनोटअन्तर्गत एसियन कप छनोटको तयारीको रुपमा थ्री नेसन्स कप फुटबलको आयोजना गरेको हो ।
नेपाली टोलीका प्रशिक्षक भन्छन्- रणनीति सफल भयो
जितपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो रणनीति सफल भएको प्रतिक्रिया दिएका छन् । ‘आजको खेलमा परिवर्तन हुन्छ भनेको थिएँ । रणनीति र खेलाडी परिवर्तन हुन्छ भनेको थिएँ । त्यो योजना सफल भयो । म खुसी छु । गौरवान्वित छु,’ उनले भने । उनले उपाधि जित्नुको श्रेय खेलाडी र फुटबल समर्थकलाई जाने बताएका छन् । उनले भने, ‘यो श्रेय सबै खेलाडी र समर्थकलाई जान्छ । १०० दिनको तयारी र प्रतीक्षाको घडी थियो । हामी सफल भयौं ।’

प्रतिक्रिया