सरकारको समर्थन फिर्ता लिन प्रचण्डको ढिलाइ, यस्ता छन् कारण !

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै फिर्ता लिएको छैन । माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण गरी नेकपा बनेको थियो । यही नेकपाको नेतृत्व केपी शर्मा ओलीले गर्दै आए पनि सर्वोच्चको फागुन २३ गतेको फैसलापछि दुवै पार्टी पुन: अलग भए ।
ओलीले नेकपा एमालेको नेतृत्व गरिरहेका छन् भने पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको । सरकारविरुद्ध सबैभन्दा कडा रुपमा प्रस्तुत हुँदै आएको यही माओवादी केन्द्रले समर्थन फिर्ता हालसम्म नलिनुमा ‘दालमे कुछ काला है’ बुझ्न सकिन्छ । प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिए ओली नेतृत्वको सरकार अल्पमतमा पर्छ । त्यसपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओलीले त्यस अवधिभित्र विश्वासको मत लिने वातावरण बनाउन सक्ने सम्भावना भने रहन्छ ।
नेकपा एमाले नफुट्ने अवस्था बनेपछि ओलीसँग १२० सांसद रहन्छन् । बहुमतका लागि उनले जनता समाजवादी पार्टी (जसपा) को समर्थन लिन पहल गर्ने सम्भावना पनि उस्तै छ ।
बहुमत लिन नसके राष्ट्रपति विद्या भण्डारीले बहुमतको सरकारका लागि आह्वान गर्नेछिन् । यसपछि जसपा र नेपाली कांग्रेस सरकार बनाउने कसरतमा लाग्नेछन् । यद्यपि सरकरका लागि बहुमत पुर्याउन ओली स्वयं अग्रसर हुने अवस्था पनि छ । अझ बहुमतको सरकार नबने सबैभन्दा ठूलो दलका नेताका रुपमा ओली नै प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । उनले त्यसपछि देशलाई निर्वाचनमा लैजान सक्नेछन् ।
यही सम्भावना रोक्न पनि माओवादी अध्यक्ष प्रचण्डले वर्तमान ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला गरेका हुन् । उनले २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलालाई दिउँसै रात पार्ने कदम भनेका छन् । प्रचण्डले अब सडकमा आउनसक्ने सम्भावना पनि औंल्याएका छन् । आज (मंगलबार) मात्र प्रचण्ड नेकपा एकता प्रक्रिया खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन दिन सर्वोच्च अदालत पुगेका छन् ।
प्रचण्डसँगै नेताहरु वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा पनि सर्वोच्च पुगेका छन् । ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै गत फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया खारेज गरेको थियो । सर्वोच्चको यही फैसलापछि एमाले र माओवादी ब्युँतिएका थिए ।
प्रचण्डले अब नैतिकताको प्रश्न उठेकाले सरकारको समर्थन फिर्ता लिएर अघि बढ्ने रणनीति बनाइसकेको स्रोतले दाबी गरे पनि कहिले भन्ने समय टुंगो लागेको छैन । पछिल्लो समय प्रचण्डले बरु सडक संघर्षमा जाने तर सरकारलाई दिएको समर्थन भने कायमै रहने अभिव्यक्ति दिँदै आएका छन् ।
प्रचण्डको अभिव्यक्तिसँगै कांग्रेसभित्र नयाँ दबाब सिर्जना भएको छ । ओली सरकारलाई कांग्रेसकै कारण फाइदा पुगेको र जसपा पनि त्यसैमा सहयोगी भएको सन्देश जाने सम्भावना पनि उस्तै छ ।
तर, प्रचण्डकै कारण सरकारको आयु पनि लम्बिइरहेकाले ओली पनि अहिले खुसी नै देखिन्छन् ।

प्रतिक्रिया