मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार गोपाल गुरागाईंलाई

नेपालखोज २०७७ चैत १७ गते १५:५१

काठमाडौं । मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईंलाई सम्मान गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंको राष्ट्रियसभा गृहमा आज (मंगलबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार हस्तान्तरण गरे । नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता नेकपा (एमाले) का पूर्वमहासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित पुरस्कारको राशि एक लाख रुपैयाँको छ । गुरागाईं विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

त्यस्तै, यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

यसैगरी, यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिएको छ । पण्डित विगत साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । यो पुरस्कारको राशि ४० हजार रुपैयाँ छ ।

कार्यक्रममा कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरियो । यसको राशि २५ हजार रुपैयाँ छ । वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

त्यस्तै, यो वर्षको सहिद जगतजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक ब्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिएको छ । अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । अधिकारीलाई दिइने पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

यसैगरी, यो वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक विनु सुवेदीलाई प्रदान गरिएको छ । उनी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छिन् । सुवेदीलाई दिइने पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिएको छ । उनी विगत दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् । उनलाई दिइएको पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

त्यस्तै, यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबीसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिएको छ । उनलाई प्रदान गरिएको पुरस्कारको राशि २० हजार रुपैयाँ छ । अनुराग विगत डेढ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् ।

यस्तै, यो वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डीसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राइम टाइम्स टेलिभिजनका उप–सम्पादक दीपक अर्याललाई प्रदान गरिएको छ । यसको राशि जनही २० हजार रुपैयाँ रहेको क्लबका अध्यक्ष ऋषि धमलाले नेपालखोजलाई जानकारी दिए ।

प्रतिक्रिया