ओलीलाई भुसालको प्रश्न- ‘पार्टीलाई बन्धक बनाएर तपाईंले के पाउनुभयो ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिएका छन् । ११ पृष्ठको स्पष्टीकरण जवाफ दिँदै भुसालले पार्टीको अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लाग्नु भएको हो ? भन्दै प्रतिप्रश्न गरेका छन् ।
ओलीकै कारण पार्टी वैचारिक, सैद्धान्तिक, राजनीतिक र साङ्गठानिक हिसाबले विसर्जनतर्फ जान थालेको नेता भुसालको भनाइ छ । पार्टीलाई बन्धक बनाएर तपाईँले के पाउनुभयो ? भन्दै नेता भुसालले प्रश्न गरेका छन् ।
भुसालले प्रधानमन्त्री ओली एमालेको अध्यक्ष भएपछि पार्टीको विचार, सिद्धान्त, राजनीति तथा सङ्गठनात्मक सिद्धान्तको मूल्य हराउँदै गएको बताएका छन् । पार्टी र आन्दोलनका विरुद्ध नजान आग्रह गर्दै भुसालले पार्टीलाई जोगाउँदै नवौँ महाधिवेशनका निर्णयका आधारमा पुनर्गठित गर्नुपर्नेमा जोड दिएका छन् ।
पत्रमा भनिएको छ, ‘पार्टी कार्यालयबाट प्रेषित औपचारिक पत्रको भाषा, त्यसको गूढार्थ र तपाईँले अपनाएको प्रक्रियाले तपाईँ के गर्न खोज्दै हुनुहुन्छ भन्ने स्पष्ट छ । नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियाजित रूपले लक्ष्यित तथाकथित न्यायिक प्रक्रियालाई कङ्गारु अदालत भनिन्छ । तपाईँले मागेको तथाकथित ‘स्पष्टीकरणसहित लिखित जवाफ’ ले तपाईँ त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ । शत्रु देशको नागरिकलाई पठाइएको जस्तो तपाईँको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन अर्थात् तपाईँले पठाउनुभएको मिथ्या पत्रका बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन तर तपाईँले लगाउनुभएका आरोपहरू कति पूर्वाग्रही छन् र तपाईँका दाबीहरू कति झुटा छन् भन्ने कुरा पार्टी पङ्तिलाई जानकारी गराउनुपर्ने भएकोले यो पत्र लेख्दै छु ।’
घनश्याम भुसालले प्रधानमन्त्री ओलीले दिएको स्पष्टीकरण

प्रतिक्रिया