नियमन गर्ने निकायहरुकै नै नियमन गर्नुपर्ने

नेपालखोज २०७७ चैत १७ गते १७:१३

काठमाडौं । उपभोक्ता विज्ञ एवं अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ता हित संरक्षणको लागि बजार नियमन गर्ने निकायहरुलाई नै नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा ‘उपभोक्ता हक हित, बजार व्यवस्थापनमा सुशासनको अवस्था’ विषयमा आफ्नो प्रस्तुति दिदै अधिवक्ता तिमिल्सिनाले बजार नियमन गर्ने निकायमाथि नै नियमन हुनुपर्ने बताएका हुन् ।

नियामक निकायमा काम गर्ने कर्मचारीले इमान्दारिताका साथ काम नगरेका कारण उपभोक्ताहरु मारमा पर्ने गरेकोले नियमन गर्ने निकयलाई नै नियमन गर्ने व्यवस्था गर्न सुझाव दिएका छन् । अहिले बजार नियमन गर्ने विभिन्न १३ नियामक निकायहरु रहेको र तीनले गर्ने कार्यक्रमहरु ठीक छन वा छैनन भन्ने सम्बन्धमा नियमन गर्न छुट्टै निकाय आवश्यक रहेकोमा उनले जोड दिए ।

लेवल नलागेका, म्याद गुज्रेका समानहरु, विषादी, अखाद्य रङ्ग, प्रिजरभेटिभ प्रयोग भएका खाद्य पदार्थको विक्री वितरण गर्ने कार्य पनि प्रमुख समस्या भएको अधिवक्ता तिमिल्सिनाले बताए । प्रभावकारी नियमित अनुगमन, नियमन र गुनासो व्यवस्थापनको अभाव, बजार अनुशासनको अभाव पनि प्रमुख समस्या रहेको उनको भनाइ रहेको थियो । बैठकमा उपस्थित सांसदहरुले संसदीय समितिले नीति निर्माण गर्न सक्ने, बजारलाई नियमन गर्ने अधिकार भएपनि गलत गर्नेहरुलाई कानूनको दायरमा ल्याउन नसक्नुले यो विषय गम्भिर बन्दै गएको स्वीकार गरेका छन् । खाद्य पदार्थमा मिसावट हुनु अर्को ठूलो चुनौतिको विषय बनेको सांसदहरुले बताए ।

प्रतिक्रिया