बुधबार, वैशाख ५, २०८१

‘शिक्षक पेशाप्रति मानिसहरुको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन सकेन’

नेपालखोज २०७७ चैत १८ गते २०:१५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेशाप्रति मानिसहरुको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन ।

बुधबार काठमाडौंमा आयोजित सिकाई आदान–प्रदान तथा आगामी कार्यदशा सम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षक पेशाप्रतिको अरुचिका कारण सरकारी विद्यालयहरुको पढाई कमजोर भएको बताए ।

उनले कुनैपनि व्यक्तिले आफ्नो पढाई सकिएपछि अन्त कतै रोजगारी नपाए मात्रै शिक्षक पेशा रोज्ने प्रवृतिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताए । उनले शिक्षक पेशामा आउनेहरु पनि अन्यत्र जागिर पाउने वित्तीकै जाने प्रवृतिले बालबालिकाको भविश्य माथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताए ।

उनले भने, ‘हामीहरु राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहिं कतै जागिर नपाइसकेपछि (क्षमा गरिदिनुहोला) अनि शिक्षण पेशामा आउने । शिक्षण पेशामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजिमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविश्यको बारेमा चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरु मुलुकका भविश्यका कर्णधार जसको भविश्यसँग मुलुकको भविश्य गासिँएको छ त्यस बारेमा हामी कति गम्भिर बन्छौं र चिन्तित बन्छौैं ।’

विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रुपमा विपन्न, निम्न आयस्रोत भएका, असाहय, अनाथ, आर्थिक रुपमा विपन्न, दलत वर्गले मात्रै पढ्न आउने गरेको बताए । सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस भन्ने तर्फ सचेत रहेको पनि मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया