राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा न्यू डायमण्डको विजयी सुरुवात

काठमाडौं । न्यू डायमण्ड स्पोर्ट्स क्लबले पाँचौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहान भएको महिलातर्फको पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हरायो । प्रतियोगिता अन्तर्गत अहिले पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लब खेलिरहेका छन् । योसहित आज पुरुषतर्फ तीन खेल हुनेछ ।
आजै दोस्रो खेलमा एपीएफले बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबसँग खेल्ने छ । महिलातर्फ भने आज अरु खेल छैन । आजदेखि सुरु प्रतियोगिता आउँदो बिहीवारसम्म चल्नेछ । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
महिला र पुरुष विजेताले ३ लाख नगद तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, तेस्रो हुनेले ७६ हजार र चौथो हुनेले ३७ हजार ५ सय रुपैयाँ पाउने छन् ।
प्रतिक्रिया