एएफसी उत्कृष्ट खेलाडी मनोनयनमा चेमजाेङ

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ एसियाली फुटबल महासंघ, एएफसीको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।
कप्तान किरण एएफसीको साताको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन । उनी राष्ट्रिय टिमको खेलमा गरेको प्रदर्शनको आधारमा मनोनयनमा परेका हुन् ।
उत्कृष्ट खेलाडीको मनोनयनमा किरणसँगै अन्य राष्ट्रका १० जना खेलाडीलाई राखिएको छ । एएफसीले पछिल्लो पटक भएका खेलहरूमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
उत्कृष्ट खेलाडीको मनोनयनमा किरणसँगै ताजकिस्तानका एलिसेर जाहालिलोभ, जोर्डनका मुसा अल तामारी, बहराईनका मोहमद मरहुन, इराकका अला अली महावी, साउदी अरेवियाका सलेह अल सेहरी, इरानका सरदार अज्मोउन, जापानका युया ओसाका, कतारका मोहमद मुन्तारी र युएईका अली मब्खोतुन रहेका छन् ।
नेपालमा भर्खरै सकिएको थ्री नेशन कपमा नेपाली टोलीका कप्तान किरणले तीन खेल खेल्दा एक गोल खाएका थिए भने दुई खेलमा क्लिनसिट रहेका थिए । उनले किर्गिस्तानको यू२३ र बंगलादेशविरुद्ध लिग चरणमा क्लिनसिट बनाएका थिए भने फाइनलमा बंगलादेशसँग एक गोल खाएका थिए ।

प्रतिक्रिया