किसुनजीको प्रतिबद्धताले मेलम्ची आयोजनाको महत्त्व र प्रचार बढ्यो : राष्ट्रपति भण्डारी

नेपालखोज २०७७ चैत २० गते १६:४०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) ले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको बताएकी छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मेलम्ची आयोजनाको पानी वितरण उद्घाटन गर्दै उनले प्रजातन्त्र पुनर्स्थापनापछिको तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रतिवद्धतापछि आयोजनाले थप महत्व र प्रचार पाएको भन्दै उनको सम्झना गरिन् । यसबाट नेतृत्व तहलाई मेलम्ची आयोजना कार्यान्वयनका लागि प्रेरणा मिलेको पनि उनले बताइन् ।

भण्डारीले वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेपछि खुशी बढेको बताएकी छन् । ‘नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन साँस्कृतिक शहर काठमाडौंका वासिन्दालाई मेलम्चीको पानी एक उपहार हुन पुगेको छ । यसबाट जनताको खुशी बढेको छ भन्ने मलाई लाग्दछ’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनाको सुरुवातदेखि हालसम्म काम गर्ने राजनीतिज्ञ, प्राविधिक, दातृ निकाय र राष्ट्रसेवकको सम्झना गरिन् । उनले मेलम्ची आयोजना सम्पन्न गर्न सहयोग गर्ने सिन्धुपाल्चोकका वासिन्दालाई पनि धन्यवाद दिएकी छन् ।

प्रतिक्रिया