तीन वर्षभित्र यांग्री र लार्केको पानी काठमाडौं आउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र यांग्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने घोषणा गरेका छन्। मेलम्चीको पानी वितरणको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यांग्री र लार्केको पानी मेलम्चीकै टनेलमार्फत तीन वर्षमा काठमाडौँ ल्याउने घोषणा गरेका हुन् ।
‘मेलम्ची आयोजनाको यो सफलता कुर्न हामीलाई लामो समय लागेको थियो । तीन दशकपछि खानेपानी आइपुगेको छ’, उनले भने, ‘अब हामीले लामो समय प्रतिक्षा नगरी यांग्री र लार्केको पानी पनि तीन वर्षपछि काठमाडौं ल्याइसक्ने छौँ ।’
उनले अब काम हुँदैन कि भनेर अविश्वास गर्नुपर्ने अवस्था नरहेको बताए । कोभिडले विश्व थला परिरहेका बेला हामीले विकासलाई लगातार अघि बढाएर सफलता पाएको उनको दावी छ ।
उनले विभाग र मन्त्रालयलाई पनि त्यसैगरी काम अघि बढाउन निर्देशन दिएका छन् । उनले यांग्री र लार्केको पानी ल्याउने आयोजनाका नाम भने ‘मेलम्ची’ नराख्ने बताए। मानिसहरुमा मेलम्ची भन्ने बित्तिकै काम नै नहुने हो कि भन्ने परेको भन्दै उनले अर्कै नाम राखेर योजना बनाउने बताए।
मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ ।

प्रतिक्रिया