एनभीए भलिबल : न्यु डाइमण्डमाथि आर्मीको संघर्षपूर्ण जित

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शुक्रबार न्यु डाइमण्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले न्यु डाइमण्डमाथि २५-१७, २०-२५, २५-२३, १५-२५ र १५-१२ को सेटमा जित निकालेको हो ।
जितसँगै आर्मीले पहिलो खेलमा महत्वपूर्ण २ अंक जोडेको छ । न्यु डाइमण्डको यो पहिलो हार हो । पहिलो खेलमा न्यु डाइमण्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएको थियो ।
महिलातर्फ नै शुक्रबार एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् । पुलिसले मेट्रो खेलकुद परिषदमाथि २५-४, २५-८ र २५-१२ को सेटमा जित निकाल्यो ।
एपीएफले ढोरपाटनमाथि २५-३, २५-९ र २५-५ को सेटमा हरायो । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।
त्यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् । लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् ।
त्यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।
प्रतिक्रिया