‘ध्रुबे’ हात्तीले लखेट्दा गैँडा गणनाका टोली घाइते, एक जनाको अवस्था गम्भीर

नेपालखोज २०७७ चैत २० गते २०:३२

नवलपरासी । गैँडा गणनामा खटिएको टोलीका सदस्यसहित टोलीमा खटिएका माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका २ नजिक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर गैँडा खासा टेम्पल क्षेत्रमा गैँडा गणनामा खटिएका टोलीलाई जङ्गली हात्ती ‘ध्रुबे’ ले लखेटपछि हात्तीबाट लडेर कम्तीमा पाँच जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

गैँडा गणनामा खटिएका प्राविधिक र माहुतेहरू घाइते भएको उनले बताए । गैँडा गणनाका क्रममा जङ्गली हात्ती ‘ध्रुबे’ ले गणनामा प्रयोग भएको हात्तीलाई लखटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् । गणनामा खटिएको हात्तीलाई ‘ध्रुबे’ ले लखेट्दा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएका संरक्षण अधिकृत बरालले बताए।

हात्तीबाट लडेर गणनामा खटिएका प्राविधिक राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाहीको हरिपुर नगरपालिका ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ का ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घाइते भएको उनले बताए । ‘ध्रुबे’ हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर र कोही भाग्ने क्रममा लडेर, ठोक्किएर घाइते भएका बरालले बताए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अरू सामान्य घाइते भएको उनले बताए । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । गम्भीर घाइते श्रेष्ठको नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया