कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले बजारमा कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाही गर्न नेपाल सरकार मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रवार बसेको बैठकले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो । समितिले चार वटै विभागका महानिर्देशकहरूलाई बैठकमा बोलाइ उपभोक्ता हक हित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धमा छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।
समिति सभापति तारादेवी भट्टले भने, ‘नेपाली उपभोक्ताहरूको हकहितमा केन्द्रित हुन नेपालको कानुन बमोजिम आ–आफ्नो सीमाभित्र रही कालोबजारी गर्नेहरूलाई निरुत्साहित गर्न सबै सम्बन्धित विभाग संवेदनशील हुनुपर्ने देखिन्छ । अहिलेको वर्तमान मार्केट गभर्नेन्सको व्यवस्था नियमित अनुगमन हुनुपर्दछ । डाटाहरू सुव्यवस्थित राख्न, कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कडा कारबाही गर्न, आज छलफल भए बमोजिम हाम्रो प्रणाली सुधारमा केन्द्रित हुन यो समिति नेपाल सरकार र सम्बन्धित सबै विभागहरूलाई निर्देशन दिन्छ ।’
त्यस्तै दर्ता भए पनि नभए पनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कडा कानुनी दायराभित्र ल्याइ दण्ड र जरिबामासहित कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।
सभापति भट्टले भने, ‘दर्ता भए पनि नभए पनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कडा कानुनी दायराभित्र ल्याइ दण्ड र जरिबानासहित कारबाही गर्न पनि यो समिति निर्देशन दिन्छ ।’ समितिले बिल बीजक लिनुपर्छ भन्ने सम्बन्धमा बढी भन्दा बढी जनचेतना फैलाउनु सरकारको दायित्व भएकाले त्यसतर्फ ध्यान दिन समेत विभागहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया