नेपालका लागि नवनियुक्त जापानी राजदुतकाे नेपालप्रति माया

काठमाडौं । जापानी राजदूत युताका किकुताले आफू नेपाली नागरिकप्रति कृतज्ञ रहेको बताएका छन् । त्यसैले गर्दा जापान नेपालको सम्बन्ध बलियो बनाउनेमा उनले जोड दिएका छन् ।
उनले भनेका छन् ‘व्यक्तिगत कुरा गर्ने हो भने मेरो गृहनगर जापानको फुकुशिमा हो । सन २०११ मा जापानमा आएको महाभूकम्प र सुनामीले गर्दा त्यहाँको तोहोकु क्षेत्रलाई निकै क्षति पुगेको थियो ।’ उनले थपे ‘ त्यस समयमा हाम्रो दुःखमा हामीप्रति सहानुभूति राखेर हाम्रा लागि नेपाली नागरिकले प्रार्थना गरेका थिए। त्यसैले म व्यक्तिगत रुपमा यसका लागि नेपाली नागरिकप्रति कृतज्ञ छु ।’
किकुता थप्छन् ‘तपाईं पनि कल्पना गर्न सक्नुहुन्छ कि मार्च महिनामा त्यस क्षेत्रमा निकै चिसो हुन्छ । त्यस्तो आपतका बेलामा मेरा आमाबुबा, मेरो परिवार र आफन्तजन एवं त्यस क्षेत्रमा बसोबास गर्ने जापानी नागरिकहरु चिसोले निकै दुःख पाएका थिए ।’
उनले त्यस समयको स्मरण गर्दे थपे ‘उनीहरु खाना, विद्युत, ग्यासलाइन विहीन भएर बस्नुपरेको थियो । त्यस्तो अवस्थामा नेपालले पाँच हजार ब्लाङकेट सहयोग स्वरुप त्यो क्षेत्रमा पठाएको थियो । यसबाट त्यहाँका हजारौँ नागरिकको ज्यान बचेको महसुस हामीले गरेका छौँ । त्यस्तो अप्ठेरो बेलामा नेपालीले पकाएर दिएको दालभात तथा तातो कफिले उनीहरुलाई बाँच्न ठूलो सहायता पुगेको थियो ।’
किकुता बताउँछन् ‘यता नेपालमा सन् २०१५ मा गएको गोरखा भूकम्पका समयमा नेपाललाई पनि जापानले सक्दो सहयोग गरेको थियो । गोरखा भूकम्प, जुन म आफैँले पनि भारतको नयाँ दिल्लीमा रहेका बेला परकम्प महसुस गरेको थिएँ, यस्तो समयमा तत्कालै उद्धारकर्मी तथा राहत सामग्री पठाएको थियो । त्यस्तै भूकम्पले भत्किएका विद्यालयहरु भवन, आवासीय भवनहरुको पुनर्निर्माणका साथै अन्य सहायता पनि जापानले उपलब्ध गराएको थियो ।’
किकुताले राजनैतिक सुझबुझ देखाउँदै थपे ‘नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले हालै बङ्गलादेशको भ्रमण गर्नुभएको थियो । त्यसक्रममा उहाँले व्यापारमा सन्तुलन तथा व्यापार वृद्धिका लागि यस क्षेत्रमा भएका व्यवधानहरु हटाउनुका साथै पूर्वाधारको विकास र बजारमा सहज पहुँचमा वृद्धि गर्नुपर्ने बताउनुभएको थियो । म यस विचारप्रति पूर्णरुपमा सहमत छु ।’
उनी थप्छन् ‘ म भन्न चाहन्छु कि नेपालमा वैदेशिक लगानी आकर्षण गर्न पनि यस्तै वातावरण निर्माण गर्नु आवश्यक छ । नेपाली उद्यमीले पनि लगानीमैत्री वातावरणको निर्माणबाट जापानी लगानीकर्तालाई आकर्षित गर्न सक्छन् र त्यस्तो अनुकूल वातावरण बनाउन नीतिगत व्यवस्थाले ठूलो अर्थ राख्दछ ।’
उनले नेपालका सन्दर्भमा थपे ‘ यसका लागि धेरै अवसर हुन सक्छन् र यस्तै एउटा हो सन् २०२५ मा जापान, ओसाका, कानसाईमा हुने एक्स्पो २०२५ । नेपालले पनि सहभागिता जनाउने यस एक्स्पो पनि नेपाली उद्यमीका लागि अवसर हुन सक्दछ । यो एक्स्पो नेपालले आफ्नो समृद्धि र खुशी विश्वसामु प्रस्तुत गर्ने एउटा उपयुक्त अवसर पनि हुनसक्छ । ’ रासस

प्रतिक्रिया