ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा एपिएफको विजयी सुरुवात

काठमाडौं । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा शनिवार एपिएफले प्रदेश–१ लाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
जितको लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफकी कप्तान तथा ओपनर सीता रानामगर ५० बलमा ७ चौका सहित ५२ रनमा अविजित रहँदै कप्तानी इनिङ खेलिन् । सीताले १७ औं ओभरको पाँचौ बलमा स्पिनर संगिता राईलाई चौका प्रहार गर्दै ४९ बलमा अर्धशतक पूरा गरेकी थिइन् । ललितपुर च्याम्पियनसिपमा अर्धशतक पूरा गर्ने सीता पहिलो खेलाडी हुन् ।
ओपनर सीता र विकेटकिपर ज्योती पाण्डेले पहिलो विकेटका लागि १२.३ ओभरमा ७० रनको साझेदारी गर्दै सहज जिततर्फ अघि बढाएका थिए । ज्योती पाण्डे ४० बलमा ५ चौका सहित ३२ रनमा आउट भईन् । सरिता मगर ६ रनमा आउट हुँदा ईन्दु बर्मा ८ रनमा अविजित रहिन् ।
प्रदेश १ की संगिता राई र रुविना क्षेत्री बेलबासले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश(१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । प्रदेश(१ की कप्तान रुविना क्षेत्री बेलबासे सर्वाधिक ४८ बलमा ६ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिईन् । युवा ब्याटर रोमा थापाले ४२ बलमा ५ चौका सहित ३३ रनमा क्याच आउट भईन् ।
प्रतिक्रिया