कांग्रेसको निर्णयपछि राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको निर्णयले राजनीतिक परिदृश्य फेरिएको बताएका छन् ।
शनिबार कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै उनले अब छिट्टै नयाँ सरकार बन्ने र नयाँ परिस्थिति बन्ने बताए ।
‘हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो । खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल लिने भनेर हिजो निर्णय लिएपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ’, प्रचण्डले भने ।
शुक्रबार राति बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको महिना दिन भन्दा धेरै भएपनि प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेको भन्दै कांग्रेसले उनको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया