आहा रारा गोल्डकपमा एपीएफको विजयी सुरुवात
पोखरा । विभागीय टोली एपीएफले आयोजक सहारा क्लबमाथि १–० को जीत निकाल्दै पोखरामा सम्पन्न १९ औं आहा रारा गोल्डकप फूटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ ।
पोखरा रंगशालामा शनिवार भएको खेलमा एपीएफले खेल सकिन ३ मिनेट बाँकी रहँदा आशिष लामाको गोलबाट अग्रता लिँदै शनिवारबाट शुरू भएको प्रतियोगितामा विजयी शुरूआत गरेको हो ।
पहिलो जीतसँगै विभागीय टोली एपीएफले आयोजकलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको छ । २ वर्षअघि पनि सहारालाई उद्घाटन खेलमै पराजित गरेर अघि बढेको एपीएफले फेरि एकपटक सहारालाई स्तब्ध बनाउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।
निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपीएफले गोलरहित बराबरी खेलेका थिए । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई १–० ले पराजित गर्दै जीत आत्मसात गर्न सफल भएको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा प्रदीप लामाले डिबक्सभित्र अवसर दिएको बललाई आशिष लामाले जाली चुमाउन सफल भएका थिए । अन्तिम ४ मा स्थान बनाएको एपीएफल अब सेमिफाइनलमा मनाङ र संकटाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा आइतवार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । सहारा क्लबले गोल्डकपको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फूटबल टीमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ट खेलाडीबाट सम्मान पनि गर्यो । रिजाललाई नगद ३५ हजारसहित सम्मान गरिएको छ ।
प्रतिक्रिया