माओवादी केन्द्रका दुई सांसद्लाई कारबाही गरेको पत्र प्रदेशसभामा
नेपालखोज
२०७७ चैत २२ गते १४:५४

रुपन्देही । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी) लाई माओवादीले कारवाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई गराइएको छ ।
एमालेमा प्रवेश गरेर ओली समूहको केन्द्रीय सदस्य बनेका न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र आएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । उनले प्रदेशसभाको नियमावली १९० अनुसार पत्र आएको बताए । अब नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभालाई जानकारी गराउने बताए ।
माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ दिएका नदिएपछि पार्टीले कारवाहीको लागि पत्र पठाएको माओवादीका संसदीय दलका नेता बसन्त घर्तीले बताए ।
सम्बन्धित

प्रतिक्रिया