मंगलबार, कार्तिक २७, २०८१

भारतबाट फर्किएका ५६ जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ चैत २२ गते १५:१७

कैलाली । नेपाल-भारत सीमा भएर शुक्रबार र शनिबार फर्किएका व्यक्तिको एन्टिजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ । भारतबाट फर्कनेको संख्या बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दो छ । कैलालीको सीमानाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको हो ।

शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टिजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्‍वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

उनका अनुसार एन्टिजेन पोजेटिभ आएका सबैलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ । एन्टिजेन परीक्षणमा १४ वर्षीयदेखि ६० वर्षीयसम्मको नतिजा पोजेटिभ आएको छ ।

सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हुँदा परीक्षणमा समस्या हुँदै आएको छ ।

सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीनजनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो । तीनैजना अहिले घरमै आइसोलेसनम बसेका छन्।

भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदुरीका लागि गएका नेपाली घर फर्कन थालेका छन् । केही खेतमा लगाएको गहुँ भित्र्याउन र काेही चैते दसैँ मनाउन घर फर्केका हुन् ।

सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि निकटवर्ती भारतीय बजारमा किनमेल गर्नेसमेत आवतजावत भइरहेकाले कोरोनाको सङ्क्रमणको खतरा झन् बढेको छ ।

प्रतिक्रिया