बिहीबार, असार १९, २०८२

ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन

नेपालखोज २०७७ चैत २२ गते १८:२९

काठमाडौं । संसद्‌को सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो । यस सम्बन्धमा छानबिन गर्न बनेको उपसमितिको प्रतिवेदनलाई पास गर्दै सरकारलाई निर्देशन दिएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । समितिले बक्यौता असुल गरेर समितिलाई जानकारी गराउन पनि भनेको छ ।

‘डेडिकेटेड ट्रंक लाइनको हकमा जुन बक्यौता रहेका रकमहरु, कानुनबाट निर्देशित भएर उठाउनुपर्ने ब्याज, हर्जनालगायत रकमहरु जो छन् तिर्नुपर्ने बक्यौता त्योचाहिँ एक महिनाभित्र असुलउपर गरेर समितिलाई जानकारी दिनको लागि निर्देशन दिने निर्णय भएको छ,’ उनले भने, ‘त्यसैगरी समितिले उपसमिति बनाएर प्रतिवेदन तयार गरेको थियो त्यो प्रतिवेदनमा आठवटा बुँदामा सुझाव गरेको थियो ती सुझाव पनि भविष्यमा यस्ता समस्याहरु नआउनका लागि नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारलाई विद्युत्‌को व्यवस्थापन गर्ने कुरामा सुझावहरुसहित निर्देशन दिनेगरी आजको समितिले अनुमोदन गरेको छ त्यो प्रतिवेदनलाई ।’

समितिले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पनि पारित गरेको प्रवक्ता पाण्डेले बताए । बैठकमा सांसदहरुले बक्यौता रकम कुनै कसर बाँकी नराखी असुल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया