पार्टीभित्रको मतभेदबारे छलफलमा आउन ओलीलाई नेता नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गरेका छन् ।
पार्टीभित्र आन्तरिक विवाद चर्किदै जाँदा नेता नेपालले आइतबार काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विवाद समाधानका निम्ति छलफलमा आउन सार्वजनिक रुपमा आग्रह गरे ।
समस्याको समाधान बैठकबाट खोज्नुपर्ने उनले बताए । आफु अनुकुल नहुँदा बैठक नै नराख्ने प्रवृत्ति ओलीसँग रहेको भन्दै ओलीलाई सुधार्न नसकेको बताए । उनले भन्नु, ‘कुनै कुरामा मतभेद छ भने आउनुहोस्, बसेर बहस गरौं । छलफल गरौँ । तर छलफल गर्न बहस गर्न त पार्टी चाहियो । बैठकमा त बस्नुपर्यो । कुनै समस्याको समाधान खोज्नु छ भने बस्नु त पर्यो । बस्नका लागि संगठन चाहियो । संगठनको बैठक चाहियो । बैठकमा उपस्थित हुनुपर्यो ।’
नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टी कमिटी २०७५ साल जेठ २ गतेको अवस्था अगाडीबाट चलाउनुपर्ने बताए । त्यसबेलाको संगठनात्मक संरचनालाई यथावत् राखेर र पदाधिकारीहरुलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिले पनि भनिरहेका छौँ पुरानो ठाउँमा आउनु भनेको के हो त ? २०७५ साल जेठ २ गतेमा जानु भनेको विघटन गरिएको पार्टीलाई फेरी ब्युताउनु हो । त्यो बेलाको संगठनात्मक संरचनालाई यथावत राख्नु, जो जो नेतृत्वमा थिए उसलाई स्वीकार गर्नु, जो जो पदाधिकारी थिए उसलाई मान्नु । जो जो सदस्य थिए त्यसलाई स्वीकार गर्नु यही होइन र ? तर उहाँले स्वीकार गर्न चाहानुभएन । एकलौटी रुपमा मनपरी ढंगले आफुसँग सहमत नभएका व्यक्तिहरुलाई फाल्न थाल्नुभयो ।’
नेता नेपालले आफुहरु चुप लागेर नबस्ने बताए । नवौँ महाधिवेशनमा थोरै मत अन्तरले मात्रै आफु ओलीसँग पराजित भएको स्मरण गराउँदै उनले अझैपनि आफुहरुको ४२ जिल्लामा बर्चश्व रहेको र तल्लो कमिटीमा बहुमत रहेको जिकिर गरे ।

प्रतिक्रिया