प्रदेश १ प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने सम्भावित कार्यसूची

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ। बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले जानकारी दिइन् ।
बैठक सोमबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रस्तावमा हस्ताक्षर गरेका माओवादीको तत्कालीन संसदीय दलका नेतासहित २३ जनाले हस्ताक्षर फिर्ता लिएपछि माओवादी प्रस्ताव फिर्ता लिन बाध्य भएको हो ।
अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भइसकेकाले प्रस्तावकले फिर्ता लिने प्रस्ताव बैठकमा लगेर पारित गराउनुपर्छ । अविश्वास प्रस्तावकै कारण चालु प्रदेशसभाको हिउँदे अधिवेशनको एउटा मात्रै पूर्ण बैठक बसेको छ।

प्रतिक्रिया