मंगलबार, वैशाख १६, २०८२

संक्रमण बढेपछि भारतको महाराष्ट्रमा लकडाउन र कर्फ्यु जारी

नेपालखोज २०७७ चैत २३ गते ९:५०

मुम्बई । कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा लकडाउनसँगै कर्फ्यु पनि लगाइएको छ । संक्रमण तीव्र गतिमा फैलिएपछि आजदेखि त्यहाँ कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो । पुणे सहरमा कर्फ्यु लागु गरिसकिएको छ । त्यहाँ एक साताका लागि धार्मिक स्थल, होटेल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएका छन् ।

महाराष्ट्रमा स्थानीय समयअनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ । पसल, बार अनि रेस्टुराले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर–घरमा खाना पुर्‍याउन भने अनुमति दिइएको छ ।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीलाई मात्रै बोलाउन भनिएको छ । सकेसम्म घरबाटै काम गराउन भनिएको छ । यी प्रावधान अप्रिल ३० तारिखसम्म लागु हुने अधिकारीहरूले जनाएका छन् ।

भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ३ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यो संख्या गत सेप्टेम्बरयताको सर्वाधिक सङ्ख्या हो। थपिएका नयाँ संक्रमितको आधाभन्दा बढी महाराष्ट्र राज्यका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउन एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन् । कोभिड-१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया