दूषित वायुले गर्भमा कसरी पार्छ प्रभाव ?
केही दिनयता वायुमण्डल प्रदूषित रहेको खबरहरु आएका छन् । चैत १८ को इयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार काठमाडौं संसारकै सबैभन्दा प्रदूषित सहर रहेको देखियो । त्यस दिन काठमाडौंको एक्युआई २३५ थियो । समान्यत: हावाको इयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५० भन्दा कम भएको स्वास्थ्यकर हो । यो इन्डेक्स सयभन्दा माथि उक्लिनुलाई स्वास्थ्यकर मानिँदैन र यो दुई सयभन्दा पनि बढ्नुले स्वास्थ्यमा असर गर्ने हुन्छन् । छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान र चीनको अवस्था पनि राम्रो छैन । यसले हाम्रो वरपरको वातावरण संसारको सबैभन्दा प्रदूषित रहेको स्पष्ट गरेको छ ।
वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा नाकारात्मक असर गर्छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले वायु प्रदूषणकै कारण प्रत्येक वर्ष करिब सात लाख मानिसको मृत्यु हुने गरेको देखाएको छ । विभिन्न समयमा गरेका अध्ययनले वायुप्रदूषणले गर्भको शिशु तथा प्रजननमा समेत गम्भीर असर गर्ने गरेको देखिएको छ । गर्भवतीलाई स्वच्छ हावा, सफा पानी, पोषिलो खानेकुरा अनि तनावरहित वातावरण भए गर्भको शिशुको राम्रो विकास हुने जनविश्वास छ । गर्भको शिशुको राम्रो विकासका लागि पोषणयुक्त खाना र तनावरहित परिस्थितिजस्तै स्वास्थ्यकर वातावरण पनि चाहिन्छ ।
वायुप्रदूषणले गर्भमा के असर गर्छ ?
वायुप्रदूषणले गर्भको बच्चाको तौलमा कमी हुने हुन्छ । धेरै वायुप्रदूषण भएको समयमा जन्मिएका बच्चाको जन्मतौल कम रहने गरेको अध्ययनहरुले देखाएको छ ।
त्यस्तै, वायुप्रदूषणका कारण गर्भको अवधि नपुग्दै अर्थात् गर्भको ३७ साता नपुग्दै बच्चा जन्मिने गरेको र यसैको कारणले ती शिशुहरु शारीरिक रुपमा कमजोर रहने गरेको पनि अध्ययनहरुले देखाएको छ । जसका कारण मृत शिशु जन्मिने गरेको पनि पाइएको छ ।
कतिपय अध्ययनले प्रदूषित वातावरणमा धेरै समय बिताउँदा महिलाको मात्र होइन पुरुषको पनि प्रजनन् क्षमतामा ह्रास आउने देखाएको छ । गर्भवतीहरुमा वायु प्रदूषणले दम वा श्वासप्रश्वासको समस्या बढाउने, गर्भ तुहाउने, उच्च रक्तचाप गराउने तथा गर्भको अवधि नपुग्दै व्यथा लाग्ने र बच्चा जन्मिने, मृत शिशु, कम तौल भएको शिशु तथा अपांग बच्चा जन्मिनेजस्ता समस्या गराउन सक्ने हुन्छ । यसरी जन्मिएका बच्चामा समेत दमको समस्याले पिरोल्न सक्ने सम्भावना रहने गरेको देखिएको छ ।
कसरी जोगिने ?
वरिपरिका हावा स्वस्थ्यकर छैन भनेर आत्तिएर समस्याको समाधान हुँदैन । हाम्रो देश र छिमेकी देशहरुको वायु प्रदूषण धेरै छ । जुन एकल प्रयासबाट तुरुन्त स्वस्थ्यकर बनाउन सम्भव नहोला । तर हाम्रो आँगनमा रहेका गर्भवती तथा जन्मिने शिशुहरुमा प्रदूषित हावाको दुस्प्रभाव कम गराउने कोसिस गर्न सकिन्छ ।
विकसित मुलुकहरुमा हावामा हानिकारक तत्त्वको मात्रा नियमित मापन गर्ने र हावामा रहेका त्यस्ता हानिकारक तत्त्वहरु छान्ने मेसिन तथा ग्यास (एयर प्युरिफायर) प्रयोग गर्ने गरिन्छ । हाम्रो देशमा त्यस्तो प्रविधिको प्रयोग गर्न नसकिए पनि विभिन्न किसिमका घरभित्र लगाइने फूलका बिरुवाहरु (स्पाइडर तथा स्नेक प्लान्टहरु) लगाउन सकिन्छ । यस्ता बिरुवाहरुले कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइडलगायत हावामा भएका हानिकारक ग्यासलाई प्रयोग गरी अक्सिजन दिन मद्दत गर्ने भएकाले घरभित्र तथा घरका कम्पाउन्डमा यस्ता बिरुवाहरु लगाउनु महत्त्वपूर्ण हुन्छ ।
गर्भवतीहरुले अहिलेको प्रदूषण हावामा घरबाहिर घुम्नेभन्दा पनि घरमै समय बिताउनु उपयुक्त हुन्छ । गर्भवतीहरुले बाहिरी हावामा धेरै बस्नु, सडकछेउ तथा गाडीको धुँवामा धेरै समय बिताउनु तथा धेरै कलकारखाना रहेको क्षेत्रमा बसोबास गर्नुभन्दा यस्ता अत्ति प्रदूषित क्षेत्रबाट टाढा बस्नु उत्तम हुन्छ ।
(डा. बालकृष्ण साह मोरङ सहकारी अस्पताल, विराटनगरमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रुपमा कार्यरत छन् ।)
प्रतिक्रिया