बिहीबार, वैशाख १३, २०८१

मन्त्री आङ्बुहाङको सांसद पद खोसियो

नेपालखोज २०७७ चैत २३ गते ११:५८

विराटनगर । नेकपा माओवादी केन्द्रले सभासद टंक आङ्बुहाङलाई कारबाही गरेको छ । माओवादी केन्द्र त्याग्दै प्रदेश १ का मन्त्री बनेका आङ्बुहाङलाई पदमुक्त गरेको हो । मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्। गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

टङ्क आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएका थिएनन् ।

नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ ।

प्रतिक्रिया