सोमबार, असार २३, २०८२

भूमिसम्बन्धी समस्या समाधानका लागि काम गरिरहेका छौं : मन्त्री तुम्बाहाङ्फे

नेपालखोज २०७७ चैत २४ गते १७:४२

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताएकी छन् ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री तुम्बाहाङ्फेले पद बहालीको सय दिनमा भए गरेका महत्वपूर्ण उपलब्धि सार्वजनिक गर्दै मन्त्रालय भूमिसँगसम्बन्धी सबै समस्या निरूपणको लागि वैज्ञानिक ढंगले योजनाबद्ध रूपमा काम अघि बढाएको बताएकी हुन् ।

उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भूमिसम्बन्धी समस्या समाधान आयोगको देशभर ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरेर स्थानीय तहहरूसँग सम्झौता गरी काम अघि बढाइएको जानकारी दिइन् ।

आयोगद्वारा स्थानीय तहहरूसँगको सहकार्यमा देशभरि भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन, नाप नक्साङ्कन, सत्यापन र अभिलेखन कार्यक्रम अन्तर्गत ६ सय ४ वटा स्थानीय तहसँग सम्झौता भइसकेको मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

लगत संकलनका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगबाट केन्द्रबाटै दैनिक संकलन भएको तथ्यांक प्राप्त गर्न सक्ने गरी वेभवेस्ड एप्लिकेसन प्रयोगमा ल्याइएको छ ।

नाम नक्सा तथा लगत संकलनका लागि १ सय ३० जना सर्वेक्षकलाई तालिम दिई कार्यक्षेत्रमा परिचालन गरिएको र २ सय ४२ जना अमिनलाई हाल भू-व्यवस्थापनसम्बन्धी तालिम दिने काम भइरहेको उनले बताइन् ।

मन्त्री तुम्बाहाङ्फेले धनी पुर्जा वितरणलाई सहज र व्यवस्थित बनाउनका लागि गाउँब्लक नापजाँचसम्बन्धी निर्देशिका २०७७ जारी गरिएको बताइन् ।

मन्त्री तुम्बाहाङ्फेले नापी कार्यालय महोत्तरी अन्तर्गत गौशाला गाउँपालिकाका वडा नम्बर ८,९ र १० का ५ सय ५०, कीर्तिपुर नगरपालिकाका वडा नम्बर ८ को गाउँब्लक नापी सम्पन्न गरी २ सय ७२ जनालाई जग्गा धनी पुर्जा वितरण गरिएको जानकारी दिइन् ।

त्यसैगरी, पोखराको फेवातालको नयाँ नाप भएको र नापी कार्यालयबाट डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्नेसम्बन्धी निर्देशिका- २०७७ जारी गरिएको उनले बताइन् ।

पदबहालीको सय दिनभित्र मन्त्रालयले सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबिन गर्न गठित आयोगमा पर्न आएका उजुरीहरू छानबिन गरी ३९ विगाहा १५ कठ्ठा १८ दशमलव ५ धुर जग्गा नेपाल सरकारको नाममा ल्याइएको, व्यक्तिको नाममा दर्ता हुन गएको बाँकेको १७ विगाहा, काठमाडौं गोकर्णेश्वर गुठी अन्तर्गतको ८ रोपनी ३ आना समेत गरी ४ सय ३९ विगाहा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याउने काम भएको मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

उनले भूमिसँग जोडिएको र सहकारीको विषयमा धेरै नीतिगत काम पनि भएको बताइन् ।

२५ बुँदे महत्वपूर्ण उपलब्धि सार्वजनिक गर्दै मन्त्री तुम्बाहाङ्फेले संविधानले गरेको व्यवस्था अनुसार भूमिसम्बन्धी अधिकार उपभोग गर्नबाट कसैलाई पनि बञ्चित नगर्ने गरी मन्त्रालयले काम गरिरहेको स्पष्ट पारिन् ।

मन्त्रालयले जग्गा मूल्यांकनमा एकरूपता ल्याउन जग्गाको वैज्ञानिक मूल्य निर्धारण प्रणाली अवलम्बन गर्ने भएको छ ।

त्यसैगरी, भू-स्वामित्व र जग्गा दर्ता प्रणालीलाई विश्वसनीय, भरपर्दो र वैज्ञानिक बनाउन प्रचलित लिखत दर्ता प्रणालीबाट हकदाबी दर्ता प्रणालीमा परिवर्तन र स्तरोन्नति गर्ने काम गरिरहेको छ ।

जग्गाको हदबन्दीलाई समय सापेक्ष बनाउन भू-उपयोग वर्गीकरण र स्थानीय भूगोल अनुरूप जग्गाको हदबन्दी पुनः निर्धारण गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

मन्त्रालयले स्थानीय तहमा भूमि बैंक स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा भूमि बैंकसम्बन्धी अवधारणा पत्र तयार गरी भूमि बैंक स्थापनाका लागि इच्छुक स्थानीय तहहरूलाई प्रस्ताव पेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सूचना आह्वान गरेको छ ।

त्यसैगरी, मन्त्रालय र मातहत निकायबाट प्रवाह हुने सेवा लगायतका बारेमा सोधपुछ र गुनासो सम्बोधन गरी सुशासन कायम गर्न टोलफ्री नम्बर सञ्चालनमा ल्याइएको छ ।

अहिलेसम्म १ सयभन्दा बढी सेवाग्राहीलाई सेवा उपलब्ध गराएको र ६ वटा गुनासा आएकोमा आवश्यक कारबाहीका लागि मातहतका निकायलाई निर्देशन गरिसकिएको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

-फाइल तस्बिर

प्रतिक्रिया