शनिबार, वैशाख १३, २०८२

विदेशी नागरिकलाई ओमन प्रवेशमा प्रतिबन्ध

नेपालखोज २०७७ चैत २५ गते १३:२६

दोहा । कोरोना संक्रमण बढेपछि ओमन सरकारले विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । संसारभर केरोेना कहर बढिरहँदा ओमनले आफ्ना नागरिकलाई स्वास्थ्य सुरक्षा दिन यस्तो निर्णय गरेको हो । नेपाली दूतावासले जनाए अनुसार ओमानको कोरोना (कोभिड–१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी समितिको बैठकले विदेशी नागरिकलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय ओमन सरकारले लिएकाे नेपाली दुतावासले जनाएकाे छ । ओमानको यो निर्णयले नेपाली नागरिक पनि प्रभावित हुने दुतावासकाे जिकीर छ । ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकहरूलाई भने प्रवेश खुला राखिएको त्यहाँको उच्च स्तरीय समितिलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

यस्तै बिहीबारदेखि लागूहुने गरी व्यापारिक गतिविधिहरू साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने यस अघिको निर्णय यथावत राख्दै उक्त समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा लगाएको प्रतिबन्ध ८ अप्रिलदेखि लागू हुने गरी खारेज गरेको जनाएको छ । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवधिभर लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मस्जिदलगायतका अन्य सार्वजनिक स्थलहरूमा जम्मा हुन तथा भेला हुन प्रतिबन्ध, रमादानको अवधिभर सामाजिक तथा साँस्कृतिक कार्यक्रम, खेलकुदलगायत सम्पूर्ण सामूहिक गतिविधिहरू गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हुँदा ओमान सरकारले जारी गरेको सम्पूर्ण नियम पालना गर्न त्यहाँस्थित नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया