ललितपुर मेयर कपको फाइनलमा एपीएफसँग सुदूरपश्चिम भिड्ने
काठमाडौं । जारी ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा तेस्रो जित निकाल्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा विभागीय टिम एपीएफसँग भेट पक्का गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार दिउँसो सम्पन्न खेलमा लुम्बिनी प्रदेशलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम फाइनल प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ७१ रन जोडेको थियो । ७२ रनको लक्ष्यका साथ मैदान उत्रिएको सुदूरपश्चिमले ४५ बल बाँकी रहँदै दुई विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
सुदूरपश्चिमका लागि मन्जु बोगटीले सर्वाधिक २६ रन जोडिन् भने रेवती धामी र विन्दु रावलले समान १७–१७ रनको योगदान दिए । लुम्बीनी प्रदेशकी कृतिका मरासिनीले दुई विकेट लिइन् ।
त्यसअघि ब्याटिङमा आएको लुम्बनीकी लक्ष्मी चौधरीले २६ रन बनाइन् । कप्तान नेरी थापाले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यता सुदूरपश्चिमकी लक्ष्मी साउदले चार विकेट गिराइन् भने रितु कनौजियाले तीन विकेट लिइन् । एक विकेट लिनेमा सुनिता लोहार र कविता जोशी रहे ।
प्रतियोगितामा एपीएपले लगातार तीन जित निकाल्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ ।
फाइनल खेल आगामी चैत २८ गते शनिबार त्रिवि मैदानमा हुनेछ । प्रतियोगितामा भोलि (बिहीबार) दुई खेल हुनेछ भने शुक्रबार रेस्ट डे छ ।
प्रतिक्रिया