शुक्रबार, चैत १६, २०८०

ठूलो स्क्रिनको दिन गयो : स्मार्टफोनमै बित्यो ४३ करोड वर्ष

नेपालखोज २०७८ माघ ११ गते ११:०३

काठमाडौं । कोरोनाकालमा मानिसको संसार मोबाइलमा सीमित भए झैं भएको छ । संसारमा मानिसहरुले प्रयोग गर्ने मोबाइललाई लिएर एउटा आश्चर्यजनक रिपोर्ट हालै मात्र सार्वजनिक भएको छ । एप एनीको स्टेट अफ मोबाइल रिपोर्टमा दाबी गरिएअनुसार २०२१ मा संसारभरका मानिसले ३.८ लाख करोड घण्टा मोबाइलमै बिताए । अर्थात् मोबाइल प्रयोगकर्ताहरुले ३६५ दिनभित्र मोबाइलमै व्यस्त रहेर ४३, ३५, ०२, ३०० वर्ष बिताइदिए ।

यो रिपोर्टका अनुसार, मानिसहरु दैनिक औसत रुपमा ४.८ घण्टा मोबाइल फोनमा बिताइरहेका छन् । यो अवधि मानिसहरु सुत्नेबाहेकको सक्रिय समयको लगभग एकतिहाइ भाग हो । ब्रिटेनमा मानिसले २०२१ सम्म प्रतिदिन फोनमा बिताएको औसत समय चार घण्टा थियो । बेलायतमा मोबाइल प्रयोग गर्ने समय २०१९ मा दैनिक तीन घण्टा तथा २०२० मा ३.७ घण्टा थियो ।

ठूलो स्क्रिनको प्रयोग घट्दो
यो रिपोर्टअनुसार २०२१ आफैंमा एउटा रेकर्ड ब्रेकरका रुपमा आयो किनभने यो वर्ष युजरहरुले मोबाइललाई लाइफस्टाइलको अभिन्न हिस्सा बनाए भने ठूलो स्क्रिनबाट उनीहरु निकै टाढा पुगे । एप एनीका सीईओ थियोडोर क्रात्जका अनुसार ठूलो स्क्रिनको प्रयोग बिस्तारै-बिस्तारै समाप्तिको दिशामा अघि बढिरहेको छ । मोबाइलमा समय बिताउने, डाउनलोड गर्ने तथा कमाइ आदि सबै कुरामा मोबाइलको प्रयोगले रेकर्ड तोडिरहेको छ ।

डेटिङ एपमा ४.२ अर्ब डलर खर्च
गएको वर्ष मानिसहरुले डेटिङ एपमा मात्र ४.२ अर्ब डलर खर्च गरे । यो तथ्यांक २०२० को तुलनामा ५५ प्रतिशतले बढी हो । यसैगरी गत वर्ष संसारभरका मोबाइल प्रयोगकर्ताले एपहरुमा मात्र १७० अर्ब डलर खर्च गरे जुन २०२० को तुलनामा १९ प्रतिशतले बढी हो ।

यी देशमा सबैभन्दा बढी प्रयोग
ब्राजिल, इन्डोनेसिया तथा दक्षिण कोरियाका मानिसले मोबाइलमा दैनिक सरदर पाँच घण्टा समय बिताए । त्यसपछि मेक्सिको, भारत तथा जापान रहे । अमेरिकीहरुले दैनिक ४.१ घण्टा मोबाइलमा बिताए भने यो त्यहाँ टीभी हेरिने दैनिक समय ३.१ घण्टाभन्दा बढी हो ।

फेसबुक र टिकटकलाई बढी समय
संसारभरका मोबाइल प्रयोगकर्ताहरुले सबैभन्दा बढी समय फेसबुक, टिकटक तथा यू-ट्युबमा बिताए । प्रयोगकर्ताहरुले खर्च गर्ने हरेक १० मध्ये ७ मिनेट यिनै एपमा खर्च हुन्थे । त्यसमा पनि टिकटक यसपटक सबैलाई उछिन्दै सबैभन्दा अगाडि आयो ।

प्रतिक्रिया