संसद्‌भित्र बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती

नेपालखोज २०७७ चैत २६ गते १५:४८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसद भित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौति दिएका हनुन् ।

उनले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै उनले एक एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौति दिए । उनले भने, “प्रधानमन्त्री ज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु । होइन भने तपाई बाहिरको सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके ,चौतारे राखेर तपाईले माथिबाट ठोक्ने, तलबाट तालि बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन ।”

उनले सरकारको ३ बर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई “अल्पज्ञान”को संज्ञा दिए । उनले भने, “प्रधानमन्त्रीलाई यो चमत्कार भएको किन लागिरहेछ ? दुईवटा कारण हुनसक्छन् । एउटा कारण वास्तविकता के छ भन्ने कुरा प्रधानमन्त्री जी लाई थाहा छैन । चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ । विकृत असत्यभाषी । यी दुईवटै अवस्था राष्ट्रका निम्ति हानीकारक छ । खराब छ ।”

प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर २०७५ सालको अशोज सम्म मेलम्चीको पानी आउँछ भने पनि प्रधानमन्त्री र मन्त्रीको कुरा नमिल्दा र ठेकेदारसँग कुरा नमिल्दा साढे २ बर्ष बढी समय लागेको र डेढ अरब रुपैया अनावश्यक खर्च भएको भन्दै उनले भने, “अहिले यत्रो फुर्ति ?” उनले भने, “कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ । तमासा गरेको छ । चमत्कार भयो भनेको छ । ६७ सालमा सुरु भएको अपर तामाकोशी ७३ सालमा सकिनुपर्ने अब आउने सालको बैशाखतिर पहिलो युनिट सुरु हुदैछ । अब हेर्नुहोला सभामुख महोदय, हामी हेर्छो, ठ्याक्कै मेलम्चीको जस्तो अहिले गरिएको जुन तमासा छ, अब यो तामाकोशीमा देखाईनेवाला छ । गजबै भो । चमत्कारै भो । प्रधानमन्त्री त कस्तो कस्तो । फ्याट्ट बिजुली बाल्दिनु भो । पानी झार्दिनुभो । अब कविताहरु हामी सुन्न पाउनेवाला छौ ।”

उनले बुढीगण्डकी, फास्टट्रयाक, पश्चिम सेती, कर्णाली करिडोर, कोशी करिडोर, बबई सिंचाई आयोजना, सिंक्टा सिंचाई आयोजना लगायत बर्षोदेखि थला परेका राष्ट्रिय गौरवका आयोजनाहरु को निर्माण सम्पन्न गर्ने सम्बन्धमा भने सरकार उदासिन भएको आरोप लगाए । निर्माण सकिएर चालु भएको २ बर्ष भईसकेको सिन्धुली र राप्तीको पुल उद्घाटन गरिएको, बीच बाटोमा पुगेको कामको सिलन्यास गरिएको, कसैको डिपिआर नै नभएको भन्दै उनले बालुवाटारमा नै निर्माण सम्पन्न कोठाको सिलन्यास गरेर सिलन्यास र उद्घाटन गर्ने रहर पुरा गर्न सुझाव दिए ।

उनले भने, “सब स्टेशन चार्ज भएको कहिले ? अस्ति गएर थिचेको छ बटन । यो के को तमासा हो । अस्तिभर्रखर १ सय ६५ वटा बटन ट्याक्क थिचेर सडक उद्घाटन । कति सजिलो छ । पैसा ३ अरब छ, लाग्छ ५७ अरब । डिजाईन पनि छैन । पैसा छैन । डिजाईन पनि नचाहिने ? पैसा पनि नचाहिने ।” दिनको ३ किलोमिटर विस्तार नभएको बेला दैनिक १० किलोमिटर पीच भएको भनी प्रचार गरिएको उल्लेख गर्दै उनले क्यालकुलेटरले हिसाव गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

उनले भने, “एउटा निर्वाचन क्षेत्रमा १० वटा ठोक्दिउँ । एकैचोटी १६ सय ५० वटा । प्रधानमन्त्री यत्तिको बहादुर भएको बेलामा । ठोक्दिए भैहाल्यो नि सभामुख महोदय । प्रधानमन्त्री ज्यूले अहिले आएको छ १० किलोमिटर बाटो दिनको पिच भएको छ भनेको छ । क्यालकुलेटर ल्याएर हिसाब गरौ न ।”

नियम, कानुन र काम लगाउने निकायको क्षमता लगायत पुर्वाधार निर्माणमा रहेको आधारभूत समस्याहरु सम्बोधन गर्न आफुहरु तयार रहेको भन्दै उनले त्यसतर्फ प्रधानमन्त्र्रीलाई रुची नै नभएको दाबी गरे ।

-तस्बिर रासस

प्रतिक्रिया