शुक्रबार, चैत १६, २०८०

सरकारले दिने अनुदान सहुलियतमा एकरुपता हुनुपर्ने कृषि मेसिनरी व्यवसायीको माग

नेपालखोज २०७७ चैत २६ गते १६:३५

काठमाडौं । कृषि मेसिनरी व्यवसायीहरुले किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पुर्‍याएपनि सरकारी बेवास्ताको कारण प्रयाप्त काम गर्न नसकेको गुनासो गरेका छन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघको पाँचौ वार्षिक साधारणसभामा भेला भएका व्यवसायीले देश भित्र नै मेसिनको उत्पादन गर्न सके किसानलाई थप सहज हुने बताएका छन् । कार्यक्रममा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष स्वयंभूकृष्ण श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारले दिने अनुदान सहुलियतमा एकरुपता हुनुपर्ने बताए ।

अर्का व्यवसायी कृष्ण शर्माले नेपालमा अत्याधुनिक कृषि मेसिनरीको प्रयोग बढ्दो रहेको बताए । सरकारले कृषिको आधुनिकीकरण र मेसिनरी प्रयोगमा सामयिक नीति र ऐन ल्याउन आवश्यक रहेको बताए । समयमा नै नीति बनाई लागू गर्न सके विदेशबाट आयात भइरहेको कृषि उपजलाई रोक्न सकिने बताए ।

व्यवसायी तुलवीर विष्ट र डील बहादुर रोकायाले किसानहरुलाई आधुनिक कृषि मेसिनरीको प्रयोग गर्न सिकाउन आवश्यक रहेको बताए । सरकार तथा विभिन्न संघ संस्थाले वितरण गर्ने कृषि मेसिनरीको प्राविधिक ज्ञान नहुँदा राम्रोसँग प्रयोग नभएको बताए । व्यवसायीहरुले हरेक वर्ष देशका विभिन्न शहरहरुमा कृषि यान्त्रिकरण मेला पनि गर्दै आएका छन् ।

प्रतिक्रिया