‘वर्क फ्रम होम’ले बढायो नयाँ तनाव

नेपालखोज २०७७ चैत २७ गते १०:००

काठमाडौं । कोरोना महामारीका कारण संसारका कैयौं मानिस घरबाटै अफिसको काम भ्याइरहेका छन् । यो रहर मात्र नभएर एक किसिमले बाध्यता पनि हो जसलाई अहिलेको विकसित प्रविधिले मलजल पुर्‍याइरहेको छ । डिजिटल कनेक्टिभिटीको सुविधाका कारण अफिस मिटिङदेखि लिएर अन्य विविध काम घर बसीबसी सम्पन्‍न गर्ने चलन व्यापक हुँदै गएको हामी सबैलाई थाहा भएकै कुरा हो ।

वर्क फ्रम होमका सम्बन्धमा भएका अनुसन्धानहरुका अनुसार यसक्रममा कर्मचारीहरुले महिनामा ६० घण्टासम्म अतिरिक्त काम गर्नुपरिरहेको छ जसले अफिसको काम अनि पारिवारिक जिम्मेवारीबीचको सन्तुलन नै बिगारिरहेको छ । माइक्रोसफ्ट वर्क ट्रेन्ड इन्डेक्सका अनुसार एसियाई देशका कामदारहरु पनि यो नयाँ बातावरण र कार्यशैलीबाट दिक्क हुन थालेका छन् । संसारका आठवटा देशमा केन्द्रित भएर गरिएको उक्त अनुसन्धानमा करिब ६ हजार कर्मचारी सहभागी थिए ।

लगातारका अनलाइन मिटिङहरुले कामदारहरुको थकान बढाइरहेको छ अनि यसले उनीहरुको कार्यक्षमतामा समेत दुस्प्रभाव पारिरहेको छ । यस क्रममा कतिपय कम्पनीले आफ्ना कर्मचारीहरुलाई अफिसमै बसेर काम गर्नसमेत भन्न थालेका छन् ।

‘वर्क फ्रम होमका क्रममा के गर्ने ?’
ध्यान : योग अनि ध्यानले तनाव कम गर्न मद्द पुर्‍याउँछ । अहिले घरबाटै अध्ययन-अध्यापन गर्ने गराउने क्रम ८० प्रतिशतसम्म छ जसले गर्दा शिक्षक र विद्यार्थी दुवैमा नयाँ किसिमको तनाव जन्माइरहेको छ । यस्तोमा योग र ध्यानले त्यस्ता नकारात्मक प्रतिक्रियामा कमी ल्याउन सक्छ ।

भोजन र व्यायाम : शारीरिक एवं मानसिक स्वास्थका लागि पोषक आहाराको आवश्यकता हुन्छ । तनावले मस्तिष्कलाई मात्र नभएर शरीरलाई समेत दुस्प्रभावित गर्छ । यस्तो स्थितिमा मौसमी फलफूल, तरकारी अनि अन्नको प्रयोगले लाभ पुर्‍याउँछ । तिनको प्रयोगले रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । पोषणको कमीले थकान तथा टाउको दुख्‍ने समस्या निम्तिन सक्छ । नियमित व्यायामका कारण शरीरबाट एन्डोर्फिन हार्मोन रिलिज हुन्छ जसले मुडलाई चुस्त-दुरुस्त राख्छ ।

फर्मुला चार-सात-आठको : यसलाई रिल्याक्सिङ ब्रिद भनिन्छ । यो व्यामका क्रममा पहिले चार सेकेन्ड श्‍वासभित्र तानिन्छ अनि सात सेकेन्ड त्यसलाई भित्रै रोकेर राखिन्छ र अन्त्यमा आठ सेकेन्ड लगाएर बिस्तारै-बिस्तारै श्‍वास छाडिन्छ । यो प्रक्रियाले दबाब र तनाव कम गराउनुका साथै राम्रो निद्रा लगाउन सहयोग पुर्‍याउँछ ।

अर्को उपाय : घरबाटै अफिसको काम गर्दा आफ्नो घरको त्यस्तो कुना रोज्‍नुपर्छ जहाँ शान्ति अथवा एकान्तका पाइनुका साथै पर्याप्त हावा आवतजावत होस् ।

मानसिकता : कामको सिलसिलामा कुनै समस्या वा बाधा सिर्जना भए अपराध बोध वा हीनताको भावना मनमा आउन दिनु हुँदैन । यसक्रममा आफ्नो मानसिकता बलियो बनाउँदै काममा सुधार ल्याउने तथा त्यसलाई सकेसम्म राम्रो ढंगबाट सम्पन्न गर्ने उपायका सम्बन्धमा सकारात्मक तरिकाले सोच-विचार पुर्‍याउनु उपयुक्त हुन्छ ।
-विभिन्‍न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
तस्बिर : प्रतिकात्मक तस्बिर

प्रतिक्रिया