२५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।
मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए। अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उनले जनाएका छन् । उनले भने ‘अहिले जुन भीडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पुरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जना भन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ ।’
उनले थपे ‘त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ । जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला ग्यादरिङहरु सबै बन्दगर्नुपर्छ भनेर हामीले भनेका छौं । यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु । अहिले छिटपुट रुपमा कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गएको छ ।’
उनले थपे ‘अस्पतालमा आइसियुमा बिरामीहरु धेरै नै भर्ना भइसकेका छन् । त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो । अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौं भने फेरी संक्रमण एकदम बढेर जान्छ ।’
प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए । त्यसका लागि भीडभाड नगर्ने, दुरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताए । यस्तै भीडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि उनले बताए ।
छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा सङ्कास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन गर्ने कार्यलाई तिब्रता दिएको पनि प्रवक्ता गौतमले बताए ।
उनले भने ‘सीमा नाकामा र अन्त संकास्पद देखिएका ठाउँमा हामी एन्टिजेन टेस्ट ग¥यो भने हामी छिटो व्यवस्थापन गर्न सकिन्छ । जो पोजेटिभ आयो उसलाई आइसोलेसनमा पठाउने, लक्षण छ भने अस्पतालमा र लक्षण छैन भने घरमा, सम्भव भएन भने आइसोलेसन सेन्टरमा पठाउने र जो नेगेटिभ आयो उसलाई घरमै क्वारेन्टाइनमा बस्नु भनेर पठाउने, पाँचवटा मास्क पनि दिएर पठाउने, १० वटा मास्क दिएर पठाउनु भनेका थियौं हामीले कतिपय ठाउँमा मास्कको पनि सप्लाई हुँदैहोला, पाँचवटा दिएर पठाएको भन्ने रिपोर्ट आएको छ । त्यसरी पठाउने एउटा सीमाको कुरा यो भयो ।’
प्रतिक्रिया