रामचन्द्र पौडेल भन्छन्- पार्टी अधिवेशन नगरी चुनावमा जाँदा कांग्रेस नै रहँदैन

नेपालखोज २०७७ चैत २७ गते १५:४८

काठमार्डां । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनवमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्ने भएकाले अहिले नै सचेत बन्नुपर्ने बताएका छन् । अहिलेको सरकरको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकोले लोकतन्त्र बचाउनको लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने भनाइ छ । उनले भने, ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन पार्टी यस्तो अवस्थामा छ । चुनाव चुनाव चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पुर्‍याउँछ । आज हामीले एउटै कुरा सोचौं कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनको लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’

नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशता तिर बढिरहेकोले विकल्प खोज्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयोग गर्‍यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकरको विकल्प खोज्नुपर्ने बताए । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने बताए ।

उनले भने, ‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा खेरीमा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍यो की गरेन, कसरी गर्‍यो यसको पनि लेखाजोखा इतिहासमा हुनेछ । त्यसो भएको हुनाले अहिले यहाँ चुनाव चुनाव मात्रै भनेर सुख पाइदैन । हामीले यो अहिलेको निरंकुशता तिर बढिरहेको यो सत्तालाई विकल्प खोजि गर्नुपर्छ । विकल्पको लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गरेर अरु पार्टीहरुसँग मिलेर हामीले बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्छ ।’

नेता पौडेलले वितगमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविश्यमा टाउको समातेर रुनुको विकल्प नहुने पनि बताए । त्यसैले चुनाव चुनाव भनेर बस्न नहुने जिकिर गरे । उनले भने, ‘अब एउटा चान्स त हामीले अस्ति नै मिस गरिसकेका छौं । जुन बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको छ । यति मात्रै भन्छु । जोखाना फेरीपनि हेरेर यो चान्स मिस गर्ने अनी पछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव चुनाव चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो हाम्रा साथिहरुको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’

वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भर्‍याङ चढ्न खोजेको पुष्टि भएको पनि उनले आरोप लगाउदै कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने बताए । व्यवस्था बचेमा मात्रै सत्ता आफै आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने पनि बताए । उनले भने ‘व्यवस्था बचाउनुपर्छ, सत्ता भन्दा व्यवस्थालाई महत्व दिनुपर्छ । सत्ता भन्दा व्यवस्थालाई महत्व दिएर हामीले नीति बनायौं र इमान्दार प्रयत्न गर्‍यौ भने सत्ता आफै आउँछ ।’

-फाइल तस्बिर

प्रतिक्रिया